कालिकोट मङ्सिर १४, दुर्गम जिल्ला कालिकोटको सदरमुकाम मान्मदेखि पाँच कोश टाढा दाहा गाविसको वडा नं. ६ सेरागाउँमा दलित र ब्राम्हण समुदायको बसोवा...
कालिकोट मङ्सिर १४,
दुर्गम जिल्ला कालिकोटको सदरमुकाम मान्मदेखि पाँच कोश टाढा दाहा गाविसको वडा नं. ६ सेरागाउँमा दलित र ब्राम्हण समुदायको बसोवास छ । ७६ घरधुरीका ४ सय १० जनसंख्या भएको सेरागाउँमा स्वास्थ्य चेतनाको दियो बाल्न सक्षम बनेकी छन्, महिला स्वास्थ्य स्वयंसेविका पुन्नाकला विक ।
विशेष गरी नवशिशु, बालबालिका, किशोरकिशोरी, गर्भवती र सुत्केरी आमाहरुको स्वास्थ्यको क्षेत्रमा सहयोगी बनेकी पुन्नाकला प्रौढ शिक्षा हासिल गरी सामान्य साक्षर मात्र बनेकी हुन् । त्यसो त महिला स्वयंसेविका छनोट हुनुभन्दा पहिलेदेखि नै उनी समूह तथा गाउँका कुनै पनि बैठकमा क्रियाशील हुन्थिन् । लिएको ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्छ भन्ने दृढ संकल्पकै कारण उनी समुदायमा सबैकी प्यारी छन् ।
आफू र आफ्नो परिवारबाटै सुरुआत गरी अरुको उदाहरण बन्न सकिन्छ भन्ने उनले व्यक्तिगत सरसफाइदेखि घरआँगन, चर्पी सरसफाइमा उत्तिकै ध्यान दिँदै आएकी छन् । कुशल गृहिणीका साथै समुदायको नजरमा पनि सक्रिय अनि सहयोगी भावना भएकी हुनाले २०६६ साउनबाट आमा समूहले उनलाई स्वयंसेविकाको जिम्मेवारी दिएको हो । उनी भन्छिन्, ‘सेरागाउँको स्वास्थ्य स्वयंसेविकामा छनोट भएपछि आफूलाई थप जिम्मेवारी आएको, एउटा चुनौतीपूर्ण अवसर प्राप्त भएको हृदयबाटै महसुस गरेकी छु ।’
समुदायमा आधारित बालरोगको एकीकृत व्यवस्थापन, मातृ तथा नवशिशु स्वास्थ्य सेवा सुदृढीकरण र मातृ शिशु तथा बाल्यकालीन पोषणलगायत अन्य विभिन्न स्वास्थ्य क्षेत्रका तालिम पाएपछि आफू समुदायलाई अझै बढी सेवा दिन सक्ने भएको उनको अनुभव छ । उनी स्वयंसेविका बन्नुपूर्व गाउँमा गर्भवती भएको पहिचान गर्नै गाह्रो हुन्थ्यो । महिलाहरु गर्भवती भएको बताउन लाज मान्ने हुनाले स्वास्थ्य जाँच तथा जुकाको औषधि तथा आइरन चक्की अनि टिटी खोपसमेत पाउन सकेका थिएनन् । घरमै प्रसूति गराउँथे । परिवार नियोजनका साधन बारेमा कुरा गर्दा अप्ठ्यारो मान्थे ।
कसैको घरमा चर्पी नभएकाले झाडापखालाका बिरामीले बच्चाहरुलाई सताइरहन्थ्यो । पुन्नाकला सेरागाउँको प्रत्येक गर्भवतीलाई आवश्यक परामर्श र सेवा दिन, गर्भवती पहिचान भएपछि सबैको सहयोग प्राप्त होस् भनी घरघरमा हरियो झण्डा झुण्ड्याउन आफैं जान्छिन् । त्यस्तै पाँच वर्षमुनिका बच्चाहरुको निमोनिया र झाडापखालाको उपचारमा घरमै पुगेकी हुन्छिन् । उनको परामर्श र सेवा कुनै स्वास्थ्यकर्मीको भन्दा कम नभएको स्वास्थ्य आमा समूहकी एक सदस्यको भनाइ छ । उनीजस्ता महिला स्वास्थ्य स्वयंसेविकाको सेवा र सहयोगको नियमित जानकारीले २०६८ चैत ३० गते दाहाँ गाविस खुला दिसामुक्त गाविस घोषणा भयो ।
उनी भन्छिन्, ‘अन्तर व्यक्ति सञ्चार सीप तथा परामर्श तीनदिने तालिम लिएपछि मेरो वडा नं. ६ सेरागाउँ कालिकोट जिल्लाकै पहिलो ‘घरमा प्रसूतिशून्य वडा’ घोषणामा सफल भएको छ । अब पूर्ण खोप घोषणाका लागि प्रयत्नशील छु ।’ कार्यसम्पादन मूल्यांकनमा समेत गाविसमै उत्कृष्ट कार्य गर्न सफल भएकाले उनले दुईपटक नगद पुरस्कार पाइसकेकी छन् । २०७० चैत ३० गते जिल्ला स्वास्थ्य प्रमुखको प्रमुख आतिथ्य स्थानीय राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, हेल्थ फर लाइफ, सेभ द चिल्ड्रेन लगायत तमाम वडाका महिला तथा सज्जनको उपस्थितिमा सेरा गाउँ ‘घरमा प्रसूतिशून्य वडा’ घोषित भएपछि अन्य वडाका स्वास्थ्य स्वयंसेविकाको पनि मनोबल बढेको छ ।
अन्य वडा पनि त्यस्तै घोषणा गर्ने तयारीमा पुगेका छन् । आव २०७०/७१ मा स्वास्थ्य संस्थामै प्रसूति हुने १३ जना पुगेका छन् भने घरमा प्रसूति शून्य नै कायम छ । यसरी उनले सेरागाउँको स्वास्थ्यमा नयाँ आयाम नै थपिएको छ । सधैं आमा र बच्चालाई स्वास्थ्य सेवा दिनमा तल्लीन पुन्नाकला विक साँच्चिकै एक सफल महिला स्वास्थ्य स्वयंसेविका हुन् । उनकै पहलमा स्वास्थ्य आमा समूहको नियमित बैठकले समयमै गर्भवतीको पहिचान भएको छ । प्रत्येक गर्भवतीलाई पहिलो पल्ट चौथो महिनामा आफंै स्वास्थ्य चौकीमा लिएर गर्भजाँचका लागि लैजान्छिन् ।
व्यथा लाग्नेवित्तिकै समुदायकै युवा, आमा दिदीहरुलाई परिचालन गरी प्रसूति केन्द्रमा पुगेर साथ दिन्छिन् । साथै गर्भवतीको घरमा झुण्ड्याएको झण्डा स्वास्थ्य संस्थामा फिर्ता गर्छिन् । पुन्नाकला भन्छिन्, ‘आफ्नो जिम्मेवारी सबैले राम्ररी पालन ग¥यौं भने समुदायको विश्वास जित्न सकिँदो रहेछ ।’
– बलबहादुर कार्की/दीपेन्द्रकुमार राई, हेल्थ फर लाइफ कालिकोट - 


COMMENTS