भक्तपुर मङ्सिर ८, भक्तपुरका गाउँगाउँका बासिन्दालाई गाउँमै गएर स्वास्थ्य सेवा दिने उद्देश्यले भक्तपुरको सल्लाघारीस्थित इवामुरा मेमोरियल अस्पत...
भक्तपुर मङ्सिर ८,
भक्तपुरका गाउँगाउँका बासिन्दालाई गाउँमै गएर स्वास्थ्य सेवा दिने उद्देश्यले भक्तपुरको सल्लाघारीस्थित इवामुरा मेमोरियल अस्पतालले गाउँगाउँमा इवामुरा अभियान सुरु गरेको छ ।
अस्पतालमा शनिबार आयोजना गरेको पत्रकारसम्मेलनमा अस्पतालका प्रबन्धक रञ्जित मारिखुले स्वास्थ्य उपचारको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी प्रत्येक गाउँमा सञ्चालन गरिने निःशुल्क शिविरमा स्वास्थ्य परीक्षण, उपचार र औषधिसमेत निःशुल्क वितरण गरिने जानकारी दिए ।
अस्पतालले भक्तपुरको सुडाल गाविसबाट सुरु भएको यो अभियान जिल्लाको १६ वटै गाविस र काभ्रे तथा सिन्धुपाल्चोकका विभिन्न गाउँमा समेत सञ्चालन गरिने उनले बताए । अभियानका क्रममा अस्पतालले प्रसूति सेवा, हाडजोर्नी सेवा, फिजियोथेरापी सेवा, न्यूरो सेवा, सामान्य चिकित्सा सेवा, सर्जरी सेवा, ग्यास्ट्रोलोजिस्ट सेवा, इजिसी सेवा, दन्त सेवा, महिलाको पाठेघर जाँच सेवा, ल्याब टेस्ट, सुगर टेस्ट, रगत परीक्षण, रक्त समूह परीक्षणलगायतका विभिन्न परीक्षासमेत निःशुल्क गरिने छ ।
विशेषगरी अस्पतालसम्म स्वास्थ्य उपचारका लागि आउन नसक्ने बालबालिका, वृद्धवृद्धा, महिलालाई लक्षित गरी सुरु गरिएको अभियानमा अस्पतालका ११ जना विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन भएको बताइएको छ । अस्पतालका बजारप्रमुख निश्चल दिवाकर अस्पतालको अभियान शनिबारदेखि सुरु भएको जानकारी दिए । अभियानको पहिलो दिन सुडाल गाविसमा भएको शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको बताए । रासस:
COMMENTS