नेपालगन्ज नेपालमा अन्धोपन निवारणका लागि ‘भिजन ट्वान्टी—ट्वान्टी’ कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबै नेपालीको पहुँच पुग्ने विश्वास...
नेपालगन्ज
नेपालमा अन्धोपन निवारणका लागि ‘भिजन ट्वान्टी—ट्वान्टी’ कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबै नेपालीको पहुँच पुग्ने विश्वास गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घले सन् १९९९ फेबु्रवरीमा ‘दृष्टिका लागि अधिकार नारासहित विश्वका करिब पाँच करोड नागरिकलाई अन्धोपनबाट जोगाउन भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम तर्जुमा गरेपछि नेपालले सोही वर्षको नोभेम्बरमा सो कार्यक्रमलाई अनुमोदन गरेको थियो । नेपालले हस्ताक्षर गरी अनुमोदन गरेको सो कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्पmत मुलुकभरि सञ्चालनमा ल्याइएको छ ।
सन् २०२० सम्म सञ्चालन हुने सो कार्यक्रमका लागि मन्त्रालयले नेपाल नेत्र ज्योति सङ्घ, तिलगङ्गा आँखा केन्द्र र आँखा उपचारका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई सहयोगी संस्थाका रुपमा स्वीकार गरेको छ । भिजन ट्वान्टी—ट्वान्टीले मोतियाबिन्दु, जलबिन्दु, खस्रे रोगको उपचार, बालबालिकामा हुने अन्धोपन न्यूनीकरण, चश्माको जाँच, न्यून दृष्टि सेवा, मधुमेहका कारण आँखाको दृष्टिमा पर्ने असरको उपचार गर्नुका साथै आँखा रेखदेखसम्बन्धी चेतनामूलक कार्यक्रमलाई समेटेको नेपाल नेत्र ज्योति सङ्घका जिल्ला अध्यक्ष रतनकुमार टन्डनले जानकारी दिए ।
‘प्रिभेन्सन अफ बलान्डनेस’ कार्यक्रमअन्तर्गत सन् १९८१ मा गरिएको पहिलो सर्वेक्षणले नेपालमा कुल जनसङ्ख्याका शून्य दशमलब ८४ प्रतिशत नागरिकमा अन्धोपन पाइएको थियो । त्यसमध्ये एक दशमलब सात प्रतिशतमा एउटा आँखा दृष्टिविहीन र दुई दशमलब सात प्रतिशतको आँखामा खराबी देखा परेको थियो । सर्वेक्षणमा उल्लेख गरिएअनुसार आँखाका समस्या भएका मानिसमध्ये ९० प्रतिशत ग्रामीण भेगका छन् भने ७२ प्रतिशत मोतियाबिन्दुको समस्याबाट प्रभावित छन् । आँखाको विभिन्न रोगबाट पीडितमध्ये ८० प्रतिशतको रोग निको गर्न सकिने सर्वेक्षणमा उल्लेख छ ।
सन् २०१० गरिएको पछिल्लो सर्वेक्षणमा भने नेपालमा विभिन्न स्थानमा आँखा अस्पताल सञ्चालनमा आएपछि आँखा रोगको समस्या आधा घटेको देखिन्छ । हाल नेपालका शून्य दशमलब ३९ प्रतिशत नागरिकमा आँखाको समस्या देखिएको छ । नेपालमा अन्य क्षेत्रको तुलनामा मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखा परेको छ । सो क्षेत्रअन्तर्गत पर्ने भेरी अञ्चलमा हाल शून्य दशमलब ५७ प्रतिशत नागरिकमा आँखाको समस्या देखा परेको छ ।
स्थानीय फत्तेबाल आँखा अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार, शून्य दशमलब दुई प्रतिशत आँखाको समस्या भएको जिल्लालाई मात्र ‘अन्धोपन मुक्त जिल्ला’ मानिन्छ । सङ्घको आज यहाँ आयोजित २१ औँ जिल्ला सभामा प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदनमा सङ्घअन्तर्गत स्थापना गरिएको फत्तेपुर आँखा अस्पतालले गत आवमा करिब एक लाखभन्दा बढीलाई बहिरङ्ग सेवा र ११ हजारभन्दा बढी आँखाका बिरामीको शल्यक्रिया गरेको उल्लेख छ ।
विसं २०४३ मा स्थापित सो फत्तेबाल आँखा अस्पताल मध्यपश्चिमको बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख र डोल्पा जिल्लामा आँखा उपचार सेवा पु¥याउँदै आएको छ । कुल १५० श्यया क्षमताको सो अस्पतालमा मध्यपश्चिमाञ्चलका प्रायः सबै जिल्ला र भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिने उद्देश्यले निःशुल्क आँखा शल्यक्रिया तथा आँखा जाँच र उपचार शिविरसमेत सञ्चालन गर्दै आएको प्रबन्धक वर्माको भनाइ थियो । रासस:

COMMENTS