'' गज़ल '' कोमल भट्ट आजभोलि यस्तो लाग्छ,चुकेको छ देश मेरो आफ्नो गौरव बिर्सिएर,झुकेको छ देश मेरो पिता पुर्खा लडे सधैँ,अस्तित्व...
'' गज़ल '' कोमल भट्ट
आजभोलि यस्तो लाग्छ,चुकेको छ देश मेरो
आफ्नो गौरव बिर्सिएर,झुकेको छ देश मेरो
पिता पुर्खा लडे सधैँ,अस्तित्वको रक्षा गर्दै
कहाँ पुग्यो गाथा ऐले,लुकेको छ देश मेरो
झलमल्ल बस्छन् अरू,हामी बस्छौँ अँध्यारोमा
धनी भन्छन् जलश्रोतको,सुकेको छ देश मेरो
चोर बस्छन चौतारीमा,दु:ख पाउँछ सज्जनले
अशक्त र निमुखामा,भुकेको छ देश मेरो
कोही पुगे चन्द्रमामा,कोही पुगे मङ्गल तिर
सबै छोडी कुर्सी मात्रै,ढुकेको छ देश मेरो
मिली सके माटो सँगै,सहिदका स्वप्ना सबै
चोखो आत्मा रुँदै रुँदै,थुकेको छ देश मेरो
झुक्दैन याँ सगरमाथा,न त झुक्छन् बुद्ध हाम्रा
झुक्नु हुन्न नेपालीले,फुकेको छ देश मेरो
कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल:-रोचेस्टर,न्युयोर्क
COMMENTS